डिजिटल मनोरञ्जन क्षेत्रको डिशहोमले नेपाली भाषामा आधारित दुईतर्फी भोइस–एआई सेवा “खुशी” सार्वजनिक गरेको छ।
यस नयाँ सेवाले ग्राहकलाई मानव–जस्तो आवाजमा संवाद गर्दै सेवा, योजना, गुनासो, सुझाव सम्बन्धि कुराकानी गर्ने सुविधा प्रदान गर्नेछ। कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण (सेंटिमेन्ट एनालाइसिस) गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत “खुशीमा उपलब्ध रहेको, डिशहोमले बताएको छ।
“खुशी”ले सेवा अवरोध, प्राविधिक समस्या र ग्राहक सम्पर्क प्रक्रियालाई सहज बनाउँदै तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराउनेछ। यसले ग्राहकलाई समस्या समाधानको अनुमानित समय, प्रगति विवरण र आवश्यक निर्देशनहरू प्रदान गर्ने क्षमता राख्छ, जसले ग्राहक सेवामा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ।
आगामी चरणमा “खुशी”ले ग्राहक पहिचान प्रमाणीकरण, डेटाबेस अद्यावधिक, जडान र प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा सहयोग, र फेसबुक मेसेंजर तथा वेबच्याटमा च्याटबोटको रूपमा सेवा विस्तार गर्ने योजना रहेको छ। भविष्यमा यसलाई व्हाट्सएप र भाइबरमा समेत विस्तार गर्ने योजना रहेको छ।
डिशहोमका प्रवक्ता अनुसार, “‘खुशी’को प्रयोगले ग्राहक सेवामा डिजिटल, छरितो र मानवीय–शैली अनुकूल अनुभव प्रदान गर्नेछ। यसले नेपाली भाषामा आधारित एआई प्रविधिको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड स्थापना गर्नेछ।”









