नेपाल सरकारले सञ्चालनमा ल्याएको स्टार्टअप उद्यम कर्जा योजनाअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि देशभरका ६६१ परियोजनाहरू छनोट भई कर्जा सिफारिसको चरणमा पुगेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले वैशाख २१ गते आइतबार सार्वजनिक सूचना जारी गर्दै छनोटमा परेका उद्यमीहरूलाई अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराइने जानकारी दिएको छ।
सिफारिसमा परेका उद्यमीहरूले तोकिएको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गरी आवश्यक प्रक्रिया अगाडि बढाउनु पर्नेछ। यदि प्रकाशन मितिबाट ४५ दिनभित्र सम्बन्धित शाखामा सम्पर्क नगरिएमा परियोजना प्रस्ताव र कर्जा सिफारिस स्वतः खारेज हुनेछ। कुन उद्यमीले कुन शाखाबाट कर्जा लिनुपर्ने भन्ने विवरण समेत प्रतिष्ठानको वेबसाइटमा सार्वजनिक गरिएको छ। बैंकले आफ्नो कार्यविधिअनुसार मूल्याङ्कन प्रक्रिया पूरा गरी कर्जा वितरण गर्नेछ भने भुक्तानी नहुँदा कार्यविधिको अनुसार असुली प्रक्रिया सुरु गरिनेछ। यस्तै, कार्यविधिमा पहिले अन्य संस्थाबाट लिएको सहुलियतपूर्ण कर्जा चुक्ता नगरेका उद्यमीहरू यस योजनाअन्तर्गत कर्जा लिन अयोग्य ठहरिने व्यवस्था गरिएको छ।
यस कार्यक्रममार्फत उद्यमीहरूले बिना धितो पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। कर्जा अवधि पाँच वर्ष तोकिएको छ। बैंकले पाँच लाखसम्मको कर्जा एकपटकमा, १५ लाखसम्म दुई किस्तामा र सोभन्दा माथि तीन किस्तामा वितरण गर्ने प्रक्रिया लागू हुनेछ।
चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, कुल बजेटमध्ये तीन प्रतिशत प्रतिष्ठानको प्रशासनिक खर्चमा, २५ प्रतिशत कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई कर्जाको रूपमा प्रवाह गरिनेछ। अघिल्लो वर्ष यो कार्यक्रममार्फत १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा वितरण गरिएको थियो, जसबाट १ करोड ८० लाख रुपैयाँ फिर्ता भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, गत वर्ष कर्जा पाएका उद्यमीहरूले औसतमा चारदेखि पाँच जनासम्म रोजगारी सिर्जना गरिरहेका छन्। सरकारले चार वर्षअघिदेखि बजेटमार्फत स्टार्टअप कर्जा वितरण गर्ने घोषणा गर्दै आए पनि कार्यक्रम गत वर्षदेखि मात्रै कार्यान्वयनमा आएको हो।
कर्जा सिफारिसमा परेका उद्यमीहरूले व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ताको सक्कल प्रतिलिपि, नागरिकता प्रमाणपत्र, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, तीन प्रति पासपोर्ट साइज फोटो, व्यवसायको छाप र यदि व्यवसाय भाडामा सञ्चालनमा छ भने सोसम्बन्धी सम्झौताको प्रतिलिपिसहित तोकिएको बैंक शाखामा सम्पर्क गर्नु पर्नेछ।
प्राप्त जानकारी अनुसार, छनोटमा परेका परियोजनाहरूले चारदेखि पाँच दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमार्फत कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले आवश्यक मूल्याङ्कन प्रक्रिया सम्पन्न गरी सात दिनभित्र पहिलो किस्ता वितरण गर्ने व्यवस्था रहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले जानकारी गराएअनुसार, स्टार्टअप कर्जा प्रवाहका लागि गत भदौमा सार्वजनिक रूपमा परियोजना प्रस्ताव आह्वान गरेको थियो। यस क्रममा देशभरबाट ५ हजार १५८ उद्यमीले अनलाइन तथा भौतिक रूपमा उपस्थित भई आवेदन दिएका थिए। तीमध्ये १ हजार ३१४ प्रस्तावकलाई प्रस्तुतीकरणको लागि छनोट गरिएको थियो। योग्य प्रस्तावकहरूलाई निश्चित मिति र समय तोकी प्रस्तुतीकरणको ढाँचा (फोटो र भिडियोसहित) प्रस्तुत गर्न भनिएको थियो। त्यसमा १ हजार ७३ प्रस्तावकले प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणमा व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण र मूल्यांकन समितिले राखेको प्रश्नोत्तरलाई आधार मानी मूल्याङ्कन गरिएको थियो। प्रस्तुतीकरणबाट प्राप्त औसत अंक र बैंकबाट क्रेडिट अप्राइजलमार्फत प्राप्त अंक जोडेर कुल अंकभार निकालिएको हो। यस आधारमा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकहरूलाई प्राथमिकताका साथ अन्तिम छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।
यो योजनाअन्तर्गत कृषि र पशुपालन, सूचना प्रविधि, पर्यटन, हरित उद्यम, फर्निचर उद्योग, साना उद्योगहरू, खाद्य प्रशोधन, क्याफे र रेस्टुराँ, फलाम र निर्माण, होस्टेल सञ्चालन, खेलकुद तथा संगीत क्षेत्रमा आधारित व्यवसायहरू, तयारी पोशाक र हस्तकलालाई विशेष प्राथमिकता दिइएको छ। कर्जा पाउनका लागि उद्यमले व्यवसाय दर्ता गरेको अवधि १० वर्षभन्दा कम हुनुपर्नेछ, वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम हुनुपर्नेछ र पुनःसंरचित संस्था नभएको हुनुपर्नेछ।
सरकारले यस कार्यक्रमलाई युवाहरूलाई उद्यमशीलताप्रति प्रेरित गर्ने, स्वदेशभित्रै रोजगारीका सम्भावनाहरू विस्तार गर्ने र समष्टिगत रूपमा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने रणनीतिक उद्देश्यका साथ अघि बढाइरहेको छ। साथै, यो पहलको प्रभावकारिता अभिवृद्धि गर्नका लागि आगामी वर्षदेखि कार्यक्रमलाई अझ सशक्त र परिणाममुखी स्वरूपमा कार्यान्वयन गर्ने योजना सरकारको रहेको छ।