ताप्लेजुङ जिल्लाको प्रमुख पदयात्राको गन्तव्य मध्येमा पर्छ कञ्चनजंगा आधार शिविरसम्मको पदयात्रा। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको कञ्चनजंगा हिमाल विश्वकै तेस्रो उच्च शिखर हो, जहाँ चढ्नदेखि यसको आधार शिविरसम्मको पदयात्राका लागि वर्षेनी हजारौं पर्यटकहरू पुग्ने गर्छन्।
यहि पदयात्राको क्रममा आउने ठाउँ हो, खाम्बाचेन। समुन्द्री सतहबाट ४,१४५ मिटरको उचाईंमा रहेको खाम्बाचेन क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि पेमा छिरिङ शेर्पा होटल सञ्चालन गरेर बसेका छन्।
पेमा होटल व्यवसायमा आउनुभन्दा अघि पुर्खौली व्यवसायमा संलग्न थिए। खेतीकिसानी र चौँरी पालन प्रमुख व्यवसाय थियो। “पहिला यहाँ उवा रोपिन्थ्यो, गान्टे (भोटे) मुला रोपिन्थ्यो, आलु रोपिन्थ्यो”, उनी भन्छन्, “उत्पादन भएको वस्तु लगेर सेकाथुम हुँदै ताप्लेजुङ बजारसम्म पुर्याएर अन्नसँग साटिन्थ्यो।”
चौँरी पाल्ने, चौँरी हुर्काएर त्यसलाई तिब्बतमा बेच्ने र चौँरीको दुधबाट हुने उत्पादनलाई बिक्री गर्नु पनि प्रमुख पेशा थियो। तर, पछिल्लो समय भने खाम्बाचेनमा होटलहरु सञ्चालनमा आएको उनी बताउँछन्। उनी भन्छन्, “मैले १२/१३ वर्ष भयो होटल सञ्चालन गरेको। कञ्चनजंगा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि होटल सञ्चालन गरिरहेका छौं।”
खाम्बाचेन गेस्ट हाउसमा बस्नेखाने सेवा सुविधाका साथै फोनदेखि कोही मान्छे हिँड्न नसकेको अवस्था भएमा यहाँ चौँरी र घोडाको पनि सुविधा छ। पेमाकाअनुसार लोकल गाइड तथा भरियाको पनि अवस्था छ।
दुर्गममा होटल सञ्चालनमा चुनौती नै चुनौती
पदयात्रीका लागि ताप्लेजुङबाट खाम्बाचेन पुग्न कम्तीमा चार दिन लाग्छ। पहिलो दिन ताप्लेजुङबाट गाडीमा सेकाथुमसम्म पुग्ने, दोस्रो दिन सेकाथुमबाट पदयात्रा सुरु गरेर थ्याङ्गेम, तेस्रो दिन घुन्सा र चौथो दिन खाम्बाचेन पुग्न सकिन्छ।
पेमा छिरिङ निकै उचाईं र ढुवानीका हिसाबले पनि चुनौती भएको क्षेत्रमा होटल सञ्चालन गर्नलाई सहज नभएको बताउँछन्। सहज नहुनुका कारण भनेको यहाँको मौसम र यहाँसम्मको ढुवानी हो।
खाम्बाचेन गेस्ट हाउसमा १० वटा रुमहरु छन्, जसमा २० जनासम्म पाहुना अटाउन सकिन्छ। उनकाअनुसार यहाँ मेनु अनुसारले खाना खुवाईन्छ। अर्डर अनुसार यहाँको स्थानिय उत्पादनलाई उपयोग गरेर खाना बनाइन्छ
“लगभग ४ हजार ५ हजारको उचाईंमा होटल व्यवसाय गर्न एकदमै गाह्रो छ”, उनी भन्छन्, “कारण के भने यो ठाउँ अत्ति नै चिसो छ। यहाँ पानी जम्छ।”
पदयात्रा गर्ने क्षेत्रमा होटल सञ्चालन गरिरहँदा पर्यटकका लागि सम्पुर्ण सेवासुविधा उपलब्ध गराउन सक्ने अवस्था समेत रहदैंन। पेमाकाअनुसार कोठासँगै अट्याच बाथरुम बनाउने हो भने त्यहाँ पानी जम्न समस्या आइदिन्छ। त्यस्तोमा बाथरुमहरु कोठामा नभएर बाहिर नै हुने गर्छन्।
मौसमसँगैको अर्को समस्या भनेको ढुवानी छ। आफ्नो गेस्ट हाउसमा प्रयोग हुने सम्पुर्ण सामानहरु ताप्लेजुङ बजारबाट नै ल्याउने गरिएको पेमा बताउँछन्। ढुवानीका लागि प्रतिकेजी २०० रुपैयाँसम्म लाग्छ।
“होटल चलाएपछि सामान छैन भन्न मिल्दैन”, उनी होटलसम्म सामान ल्याउनका लागि भएको कठिनाईबारे भन्छन्, “बजारमा नुन किलोको २५ देखि ३० रुपैयाँ पर्छ। त्यसलाई यहाँ ढुवानी गर्दा १५० रुपैयाँ खर्च हुन्छ। तल बजारमा २५ देखि ३० मा पाउने नुन यहाँ आइपुग्दा १८० रुपैयाँ पर्छ।”
यस्तोमा आफ्नै चौँरी वा खच्चड भएको खण्डमा भने खर्च कम लाग्ने हुन्छ। तर, पेमाले भने स्थानीय अन्य व्यक्तिका खच्चड तथा चौँरीको प्रयोग गरेर ढुवानी गराउने गरेका छन्।
खाम्बाचेनमा उत्पादन हुने आलु बाहेक प्राय: शतप्रतिशत सामग्री नै ढुवानी गराएर ल्याउनु पर्ने अवस्था भएको पेमा बताउँछन्।
भिडियो यहाँ हेर्नुहोस्:
कोरोनाले थलिएको पर्यटन बल्ल फस्टाउँदै
२०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण आफ्नो व्यवसायमा पनि असर गरेको पेमा सुनाउँछन्। महामारीका कारण पर्यटकको संख्या शून्य सरह भएको उनले बताए। उनी भन्छन्, “कोरोनाभन्दा पछि शून्य नै थियो। पछिल्लो एक वर्ष यता राम्रै हुँदै गएको छ।”
पछिल्लो एक वर्ष यता भने एक सिजनामा यो क्षेत्रमा तीनदेखि चार सय जनासम्म आउने गरेको उनले बताए। त्यसअघि भने दुई वर्षमा पनि चार सय जना पनि नआउने अवस्था रहेको उनी बताउँछन्।
यो क्षेत्रमा वर्षमा दुई सिजन पर्यटकको बढि आवतजावत हुन्छ।
पेमाकाअनुसार कञ्चनजंगा पदयात्राका लागि फाल्गुनको दोस्रो सातादेखि जेठको पहिलो सातासम्म उत्कृष्ट समय हो। उनी भन्छन्, “यो समयमा यहाँ २२ प्रजातीका लालिगुराँस ढकमक्क हुन्छ। चौँरी देखिन्छ। भेडाच्याग्रा देखिन्छ। हिमचितुवा देखिन्छन्। स्थानीय भेषभुषा देख्न सकिन्छ।”
त्यस्तै, असोजदेखि मंसिर बीचसम्म पनि यहाँ घुम्न एकदमै राम्रो मौसम हुने उनी बताउँछन्। त्यसपछि भने चिसो अत्याधिक बढ्ने भएकाले पाहुनाका लागि भने असहज हुने उनी सुनाउँछन्।
“हामी होटल व्यवसाय गर्नेका लागि ठीकै भएपनि पाहुनाहरुका लागि भने अलिक चिसो हुने र लेक लाग्ने अवस्था हुन्छ”, पेमा भन्छन्, “मध्य वर्षाको समयमा असार साउनमा पनि बाटोका कारण आउन अलिक गाह्रो हुन्छ।”
पर्यटकको आगमनलाई नै ध्यानमा राख्दै यहाँ होटल ६ देखि ७ महिनासम्म खुल्ला हुन्छ। पाँच महिना बन्द हुन्छ।
“जेठको पहिलो हप्तापछि असार साउनसम्म बन्द हुन्छ। पुष माघ र फाल्गुनको दोस्रो हप्तासम्म बन्द हुन्छ।”, पेमाले भने।
लोप हुँदै पुर्खौली व्यवसाय
खाम्बाचेन क्षेत्रमा होटल खुल्नुभन्दा पहिला प्राय: सबै जना खेतीकिसानी र चौँरी पालनमा नै संलग्न हुने गरेको पेमा सुनाउँछन्। खाम्बाचेनको स्वरुप नै फरक थियो त्यो बेला।
पेमाकाअनुसार यहाँ होटलहरु बन्नुभन्दा पहिला ढुंगाको चाङ लगाएका घर थिए। ती घरभित्र दुईतीन सय वटा मुसा भेटिन्थ्यो। उनी भन्छन्, “मेरो पनि त्यस्तै ढुंगाको घर थियो। होटल गर्न थालेपछि अहिले चिटिक्क परेका घरहरु बनाउने गरिएको छ।”
त्यो बेला कोही चौँरी पालन गर्ने त कोही बाख्रा पालन गर्ने अवस्था थियो। चौँरी धेरै बनाएर तिब्बतमा बेच्थे यहाँका स्थानीयहरु।
बिस्तारै कञ्चनजंगामा पर्यटकको संख्या बढ्दै जाँदा र चौँरीहरु लोप हुँदै गएपछि यहाँ होटल व्यवसाय गर्नेहरु बढेको पेमा सुनाउँछन्। उनी भन्छन्, “पुर्खौली पेशा चौँरी पालन गर्ने काम अहिले कम भएको छु।”
पेमा चौँरी पालन र होटल व्यवसायमा धेरै फरक भएको बताउँछन्।
“चौँरी पालन गर्दा त्यो जमानामा अरु केही उपाय थिएन”, उनी भन्छन्, “चौँरी पालन गरेर प्राय त्यस्तो फाइदा पनि हुँदैन थियो। अहिले पनि यहाँ १०/१५ वटा हिमचितुवा छन्। अहिले पनि यहाँ एउटा कालो ब्वासो देखिएको छ। हिमाली ब्वासोले सिजनको बेला एउटै घरको ५/१० वटा चौँरी मारिदिन्थ्यो।”
पेमाका लागि होटल व्यवसाय भने राम्रो खुवाउने र हसिलो मुहार बनाएर व्यवहार गर्ने व्यवसायको स्वरुपमा छ। उनी भन्छन्, “मलाई पुर्खौली पेशा र यसलाई हेर्दा यो अलिक रोमाञ्चक भएकाले होटल व्यवसायमा नै लागिएको हो भन्ने लाग्छ।”
२० लाख लगानी, कति हुन्छ आम्दानी?
पेमाले १३ वर्षअघि आफ्नो होटल बनाउँदा स्थानीयसँग अर्मपर्म गरेर बनाएको बताउँछन्। त्यत्ति बेला १० लाख जति खर्च भएको उनले बताए।
यो क्षेत्रमा होटल सञ्चालनमा आउनुअघि घरमा नै पदयात्रीहरु बस्ने सुत्ने गर्थे। एक्कै ठाउँमा चुलोदेखि सुत्ने अवस्था हुने गरेको पेमा बताउँछन्। उनले भने, “पाहुना र घरको मान्छे त्यहाँ नै सुत्ने हुन्थ्यो।”
अहिले फरक फरक कोठाहरु छन्। डाइनिङ छ। अहिले बाहिरका पाहुनाका लागि धेरै सहज भएको छ। तर, यसरी होटल सञ्चालनमा ल्याउनका लागि पनि धेरै मिहेनत पर्ने गर्छ।
“काठ तलबाट ल्याउनु परेकाले ढुवानीमा खर्च भएको थियो”, उनले भने, “काठ प्रति क्युव फिट ४ सय रुपैयाा दिनुपर्छ। मिस्त्रीको खर्च हुन्छ। अहिलेसम्म १५ देखि २० लाख रुपैयाँसम्म लगानी भएको छ यहाँ।”
ढुवानीदेखि मौसमको कुरा तथा पर्यटकको आवतजावत कस्तो हुन्छ भन्ने कुराले खाम्बाचेनमा रहेका होटल व्यवसायको आम्दानीलाई असर गर्छ।
“कमाई कति हुन्छ त?” भन्ने प्रश्नमा भने पेमा ढुवानीदेखि खर्च कटाएर हेर्दा छोराछोरी पढाउने र आफूलाई मजाले खाने पुगेको बताउँछन्।
खपत हुने सम्पुर्ण बस्तु महँगो ढुवानी खर्चमा ल्याउनु पर्ने हुँदा प्रमुखत: लागत त्यसमा लाग्ने उनी बताउँछन्।
पेमाकाअनुसार मुख्य सिजनको समयमा होटलमा काम गर्नका लागि एक जनालाई रोजागरी पनि दिन्छन् उनी। अरु बेला उनी आफैं र उनकी श्रीमती पेमा डोङ्गा शेर्पाले नै होटल सञ्चालन गर्दै आएका छन्।
“सरकारसँग धेरै अपेक्षा छ”
खाम्बाचेन क्षेत्र सडक पुगेको ठाउँबाट मात्रै नभएर सञ्चारसँगै अन्य किसिमले पनि दुर्गम छ। जसकारण आधारभूत आवश्यकताका निम्ति पनि संघर्ष गर्नुपर्ने अवस्था रहेको पेमा बताउँछन्। उनी आफूलाई सरकारसँग ठूलो अपेक्षा रहेको बताउँछन्।
“यहाँ केहीको पनि सेवा सुविधा छैन”, उनी भन्छन् “बाटोको धेरै समस्या छ। टेलिफोनको समस्या छ। तीन दिन हिँडेपछि मात्रै गाडी भेटिन्छ। बाटो अलिक माथिसम्म आउने हो भने यहाँ पर्यटकको संख्या पनि बढ्छ। ढुवानीको खर्च पनि कम हुन्छ।”
उनी सरकारले प्रमुखत: सञ्चार र सडकको सुविधामा काम गरिदिए हुने अपेक्षा राख्छन्। यद्यपी त्यसमा सरकारले ध्यान नदिएको उनी बताउँछन्।
सञ्चारका लागि खाम्बाचेन गेस्ट हाउसमा डाइमन्ड ब्रान्डको फोनलाई स्याटलाइट फोनजस्तै गरि एकै ठाउँमा राख्ने र एन्टेनालाई लामो बनाएर राखिएको छ। त्यसमा पनि बेला बेलामा मात्रै नेटवर्क टिप्ने गर्छ। कसैलाई केही आपत्तकालिन समस्या परेको खण्डमा निकै कठिनाई हुने अवस्था रहेको पेमा बताउँछन्।
यद्यपी चुनौतीका बीच पनि आफूहरुले पदयात्री र पर्यटकका लागि सहज हुने किसिमले सेवा दिईरहेको उनले बताए।
“यहाँबाट फक्ताङलुङ हिमाल देख्न सकिन्छ, त्यहाँको आधार शिविर जान सकिन्छ, नुप्चु पोखरी जान सकिन्छ”, उनी भन्छन्, “खाम्बाचेनमा नै तीन चार दिन बस्न सकिन्छ। यहाँ आएपछि मान्छेहरु ठाउँ राम्रो रैछ भनेर तीन दिन बस्ने मान्छे पनि पाँच दिनसम्म बसेर जाने गएका छन्।”