सुहृदप्रसाद चापागाईंले लामो समय विभिन्न गैर-सरकारी संस्थामामा संलग्न भएर काम गरे। ६ वर्षअघि त्यस पेशागत जीवनबाट बिश्राम लिएका उनले कृषिलाई अबको पेशा बनाउने निधो गरे। र त्यसपछि सुरु भयो “एग्रि-डाईरेक्ट”।
चार वर्षअघि उद्योग विभागमा घरेलु उद्योगका रुपमा दर्ता भएको एग्रि-डाइरेक्टको मुल उदेश्य थियो — कृषिजन्य उत्पादनको बजारीकरण गर्दै त्यसलाई विश्व बजारमा पुर्याउने।
र अहिलेसम्मको अवस्था हेर्दा सुहृद नेपालका स्थानिय उत्पादनलाई बजारीकरण गर्ने प्रयासमा आफू सफल भएको मान्छन्।
किसानको समस्या देखेपछि जन्मिएको एग्रि-डाइरेक्ट
सुहृदसँग एग्रि-डाइरेक्ट सुरु गरिरहँदा विभिन्न गैर-सरकारी संस्थामा काम गरेको वर्षौंको अनुभव थियो। इन्जिनियरिङ र एमबिए गरेका उनलाई अब भने केही नयाँ गर्नु थियो। केही नयाँ गर्ने हुटहुटी भने उनलाई आफू देशका विभिन्न ठाउँमा पुग्दा देखेका कुराहरुले जागेको हो।
“१५ वर्ष मैले स्थानिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थामा काम गरें”, सुहृद भन्छन्, “एमबीए पढ्नका लागि भारतमा जाँदा त्यहाँ ग्रामीण उद्यमशीलता भन्ने विषय थियो। त्यसपछि मलाई नेपालका गाउँठाउँलाई कसरी विकास गर्न सकिन्छ भन्ने सोच्नुपर्छ भन्ने लाग्यो।”
कामकै शिलशिलामा उनी ७७ मध्ये ७४ जिल्ला पुगे। तर सबै जसो जिल्लामा किसानको समस्या समान थियो। किसानले बजार नपाउने, उत्पादनको भनेजस्तो मूल्य नहुने, आफ्ना उत्पादन किसानले फ्याक्नुपर्ने। कृषकहरुले उनलाई भन्थे, “तपाईं सल्लाह मात्रै दिने, लु बेचेर देखाईदिनुस्।”
“सबै जसो ठाउँमा समस्या भनेको किसानको उत्पादनको सम्मान थिएन। मलाई एक पटक चेरी टमाटर (साना लोकल गोलभेडा) बेच्ने विषयमा कृषकले बेच्न सक्नुहुन्छ भने बेचेर देखाईदिनुस भनेका थिए”, सुहृद सम्झिन्छन्।
सुहृद यीनै समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे बुझ्न थाले।
किसानलाई कसरी बजारसम्म जोड्ने र उनीहरुको उत्पादनलाई कसरी विश्वबजारमा पुर्याउने भन्ने समाधान खोज्दा खोज्दै जन्मियो — एग्रि-डाइरेक्ट।
बजारीकरण र मूल्य बढाउनमा केन्द्रित
पाँच वर्षअघिबाट सुरु भएपनि चार वर्षअघि औपचारिक रुपमा दर्ता भएर सञ्चालनमा आएको एग्रि-डाइरेक्टले चार चरणमा काम गर्छ।
सुहृदका अनुसार पहिलो चरण भनेको किसानको उत्पादनलाई बिक्री गराउने हो। यसकालागि उनले किसानबाट उत्पादनलाई काठमाडौं ल्याउँछन्। ती उत्पादनलाई सामाजिक सञ्जालदेखि अन्य माध्यमबाट बजारीकरण गर्छन्।
“किसानको उत्पादन ल्याएर यहाँ बिक्री गर्दा अहिले धेरै उत्पादनले राम्रो मूल्य पाउन थालेको छ”, उनी भन्छन्, “रामेछाफ र सिन्धुलीको जुनार अहिले परिचित भएको छ। किसानबाट ल्याएर यहाँ बिक्री गरिरहेका छौं।”
सुदुरपश्चिममा माल्टा भनिने यस किसिमको जुनार ल्याएर एग्रि-डाइरेक्टले बिक्री गर्न थालेको चार वर्ष भयो। डडेलधुराको जुनार अहिले उनले ल्याउना साथै खपत हुन्छ। सुहृद भन्छन्, “पहिला ५ रुपैयाँ किलोमा बिक्री हुने जुनार अहिले ४० देखि ५० रुपैयाँसम्म पुगेको छ। किसानले आफ्नो उत्पादनको मुल्य पाएका छन्।”
पहिलो चरणमा बजारीकरणका लागि उनले जुनार मात्रै होइन, किवि, टिम्मुर , बेसार, अकबरे खुर्सानी, अदुवाजस्ता कैयौं उत्पादनमा काम गरिरहेका छन्। ती सबै उत्पादन प्रत्यक्ष रुपमा किसानबाट ल्याएर उनी स्वय: नै बिक्रीमा संलग्न भएर बजारमा पुर्याउन खटिन्छन्।
पहिलो चरणमा बजारीकरण र बिक्रीजस्तै दोस्रो चरणमा एग्रि-डाइरेक्टले उत्पादनमा “मूल्य सम्वर्धन ” गर्ने काम गरिरहेको छ। किसानबाट उत्पादित वस्तुमा कसरी मूल्य थप्न सकिन्छ भन्ने विषयमा उनीहरुले काम गरिरहेका छन्।
सुहृदका अनुसार किसानबाट ठूलो परिणाममा उत्पादन ल्याउँदा त्यो एकै पटकमा बिक्री हुँदैन् वा नहुन सक्छ। त्यस्तो अवस्थामा ती उत्पादनलाई अन्य स्वरुपमा रुपान्तरण गरेर बिक्रीका लागि तयार पारिन्छ। ठूलो परिणाममा बेसार ल्याएमा त्यसलाई सुकाएर धुलो बनाउनेजस्ता कामहरु गरिन्छ। अदुवा, टिम्मुरजस्ता मसलाजन्य उत्पादनमा पनि यसरी नै काम भैरहेको छ।
“हामीले उत्पादनलाई नयाँ स्वरुपमा लगि बजारमा पुर्याउनका लागि घरेलु उद्योगका रुपमा दर्ता भएका छौँ”, उनी भन्छन्, “यसो गर्दा किसानसँग पनि पारदर्शी भएर काम गर्न सकेका छौं र उनीहरुले पनि उचित मूल्य पाईरहेका छन्।”
फ्याकिने वस्तुलाई दीर्घकालिन बनाउने र त्यसमा मूल्य सम्वर्धन गर्ने विषयमा एग्रि-डाइरेक्टले २०८० को तिहारमा एउटा ठूलो कदम पनि चालेको थियो।
ब्रिक्री नभएका र त्यत्तिकै फाल्नु पर्ने अवस्थामा पुगेका सयपत्री फूललाई लिएर एग्रि-डाइरेक्टले अध्ययन अनुसन्धान गर्ने र त्यसबाट अत्तर र धुपसम्म बनाउने प्रक्रिया थाल्यो। यत्तिकै फ्याकिने फुललाई लिएर उनले अनुसन्धान सुरु गरे। र गत वर्षबाट सयपत्रीबाट बनेको धुप र त्यसको अत्तर पनि बजारमा ल्याए।
हालसम्म एग्रि-डाइरेक्टले बेसारलाई लिएर २ सयभन्दा धेरै किसानसँग काम गरेको छ। त्यस्तै महमा २० जना, जुनारमा ५० जना, टिम्मुरमा १२ जना, किविमा १५ देखि २० जना कृषकसँग काम गरिएको सुहृद बताउँछन्। उनी भन्छन्, “सिजनअनुसार कुन कुन कृषि उत्पादन हुन्छ हामी त्यसमा नै काम गरिरहेका छौं। त्यसो हुँदा किसानसँग जोडिने संख्या ठीक यति नै भन्ने नभएर हेरफेर भइरहेको हुन्छ।”
कृषिमा विज्ञान
दोस्रो चरणपछि एग्रि-डाइरेक्टले कृषिजन्य उत्पादनलाई विज्ञानसँग जोड्छ।
सुहृद आफैं विज्ञान र व्यवस्थापन अध्ययन गरेका व्यक्ति। त्यसले पनि उन्लाई कृषि उत्पादनमा विज्ञानलाई जोडेर नेपाली उत्पादनलाई विश्वभर पुर्याउन सकिन्छ भनेर काम गर्न जोड दिएकोछ।
बेसारमा हुने कर्कुमिन, चिराइतोमा हुने चिराइतिनजस्ता रसायनबारे अध्ययन गरेर कुन उत्पादन कुन ग्रेडको हो भनेर काम गरिरहेको सुहृद बताउँछन्।
“काम गर्दै जाँदा हामीले बुझेको कुरा हाम्रा कृषि उत्पादनभित्र ठूलो विज्ञान हुन्छ भन्ने हो”, उनी भन्छन्, “हामीले तेस्रो चरणमा त्यो पक्षमा काम गरिरहेका छौं।”
सुहृद कृषिमा विज्ञानलाई पनि ख्याल गरिनुपर्ने ठान्छन्। उदाहरणका लागि बेसारमा कति कर्कुमिन छ भन्ने कुराले त्यसको मूल्य मा फरक पार्छ। जति धेरै कर्कुमिन, त्यति नै धेरै त्यसको मूल्य हुन्छ।
“बेसारजस्तै हामीले अकबरेमा पनि काम गरिरहेका छौं”, उनी भन्छन्, “अकबरे पिरो छ त सबैले भन्छन्। तर त्यो पिरो हुनुको कारण स्केबल हिट युनिट हो। त्यो कति छ भन्नेले पिरो कति हुन्छ भन्नेमा फरक पार्छ।”
कृषि उत्पादनको वैज्ञानिक पक्षलाई हेर्दै त्यसलाई विश्वबजारमा गुणस्तरका आधारमा बजारिकरण गरिरहेको उनी बताउँछन्।
कृषिसँगै प्राकृतिक वस्तुमा पनि काम
कृषिजन्य उत्पादनका साथै उनी मह र सिलाजितजस्ता प्राकृतिक वस्तुहरुमा पनि काम गरिरहेका छन्। मह र सिलाजितलाई गुणस्तरका आधारमा वर्गिकरण गरेर त्यसलाई विश्वबजारमा पुर्याईरहेका छन्।
“तेस्रो चरण भनेको प्राकृतिक वस्तुको वैज्ञानिक पक्षलाई विश्लेषण गर्दै त्यसलाई उत्पादनका रुपमा बजारमा लैजानु हो”, सुहृद भन्छन्, “हाम्रो मुल मन्त्र भनेकै प्राकृतिक उत्पादनलाई विज्ञान मार्फत प्रमाणित गर्ने हो।”
महमा काम गर्दा भने एग्रि-डाइरेक्टले रैनाथेका साथै घरपालुवा मौरीको महलाई बजारसम्म पुर्याइरहेको छ ।
“घर पालुवा मौरीको सिजनअनुसारकै मह उत्पादन हुन्छ”, उनी भन्छन्, “तोरीको सिजनमा तोरीकै महजस्तै सिजनअनुसारको मह उत्पादन हुन्छ। रैथाने जातका मौरी (जंगली)को महका लागि भने हामीले दक्षिण ललितपुर र चेरेको माथिल्लो भेगका किसानसँग काम गरिरहेका छौं।”
घर पालुवा र रैथाने जातका मौरीको महको मूल्य पनि यीनिहरुको विशेषताका कारण फरक फरक हुने उनी बताउँछन् ।
आफूहरुले बजारसम्म पुर्याउने सबै वस्तुहरुको प्रमाणीकरण पनि गरिरहेको उनी बताउँछन्। एग्रि-डाइरेक्टले अर्गानिक भन्दा पनि खाद्य सुरक्षाको विषयलाई ध्यानमा राख्ने बताउँछन्।
उदाहरणका रुपमा उनी ‘मिनिमम पेस्टिसाइड रेसिड्यु’ (न्युनतम रासायनिक अवशेष) लाई एउटा संकेत मान्न सकिने बताउँछन्। यस विषयलाई ध्यानमा राख्दै कुन उत्पादनमा कति रासायनिक अवशेष छ भन्ने विषयलाई ध्यानमा राखिने उनी बताउँछन्।
“विश्वभर नै खानकालागि कति मात्रा सुरक्षित छ भन्ने हुन्छ”, उनी भन्छन्, “हामीले सधैं ध्यान दिने विषय भनेको उत्पादन बजारमा पुग्दासम्म कुन गुणस्तरको छ? त्यसमा कस्ता रसायनको प्रयोग भएको छ भन्ने हो। बजारमा ल्याउनुभन्दा अघि हामी अध्ययनमा काम गर्छौं।”
अन्तिम कृषि वस्तुहरुलाई सुपरमार्केटसम्म पुर्याउने
चौथो चरणमा भने पुर्ण रुपमा उत्पादनमा परिणत भएका वस्तुहरुलाई सुपरमार्केटहरुमा उपलब्ध गराउने गरि ल्याउने हो। यो हाल योजनाका रुपमा रहेको छ।
“चार चरणमध्ये पहिलोमा किसानको उत्पादन उपभोक्तासम्म पुग्छ”, उनी भन्छन्, “दोस्रो चरणमा हामी उत्पादनमा मूल्य सम्वर्धन गर्छौं। तेस्रोमा त्यसको वैज्ञानिक पक्ष र प्रमाणिकरणको कुरा हुन्छ। चौथो चरणमा हामीले हाम्रो उत्पादनलाई हाम्रो ब्रान्डिङसहित सुपरमार्केटहरुमा उपलब्ध गराउने हो।”
पाँच लाखबाट सुरुवात, गत आवमा ८० लाख रुपैयाँको कारोबार
एग्रि-डाइरेक्ट पाँच लाख रुपैयाँ लगानीसहित सुरु भएको थियो।
तर सानो पुँजीबाट सुरूवात भएपनि आफूले किसानमाथि गरेको विश्वास र किसानले आफूमाथि गरेको विश्वासका कारण अहिले ६० लाख रुपैयाँसम्मका सामानहरु किसानले विश्वासमा पठाउने गरेका उनी मान्छन्। उनी भन्छन्, “अहिले विश्वासको आधारमा हामी चल्छौं। १५ दिनको सर्कुलेसनमा काम गरेका छौं। ब्रान्डको पहिचानका कारण हामी केही फरक छौं।”
सुरु भएको वर्षबाट लगातार तीन वर्षसम्म आफूहरुले नकरात्मक मार्जिनमा काम गरेको उनी बताउँछन्। कम्पनीमा काम गर्ने सहकर्मिहरु पनि आवश्यकता अनुसार बढ्दै गएको उनी बताउँछन्।
सुहृदका अनुसार गत आर्थिक वर्षमा भने एग्रि डाइरेक्टले ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
जुन कामका लागि जस्तो मान्छे चाहिन्छ उसलाई घन्टाका आधारमा पारिश्रमिक वितरण गर्ने गरि काम गरिएको सुहृद बताउँछन्। यसरी काम गर्दा कम्पनीमा निश्चित यति नै जना कर्मचारी भन्ने हुँदैन्। आवश्यकताअनुसार नै कर्मचारी थपघट हुने उनी बताउँछन्। एग्रि-डाइरेक्टमा आवद्ध भएकाहरुले सातामा दुई दिन समय दिनुपर्छ। र यसरी आवद्ध हुनेमा खाद्य विज्ञदेखि कृषिविज्ञसम्म, आयुर्वेद चिकित्सकदेखि रासायनिक इञ्जिनियरसम्म छन्।
सुहृद आफैं भने एग्रि-डाइरेक्टलाई स्थापित गर्न अथक मिहेनतका साथ खटेका छन्। उनी आफैं विभिन्न ठाउँमा स्टल लिएर पुग्छन्। आफैंले सामाजिक सञ्जालबाट सामग्रीको निरन्तर मार्केटिङ गर्छन्। उनि मिहेनतमा विश्वास गर्छन्। उनलाई लाग्छ कुनै काममा निरन्तरता दिएमा सफल अवश्य भईन्छ।
भन्छन्,”हजार दिनसम्म एउटै क्षेत्रमा वा एउटै काममा लाग्ने हो भने त्यसको प्रतिफल अवश्य पनि देखिन्छ।”
युवराज भट्टराई पत्रकारिताका साथै साहित्यमा रुचि राख्छन्। अन्नपूर्णपोस्ट, नेपाललाईभ डट कम, क्लिकमान्डुलगायतका सञ्चारमाध्यममा काम गरेका उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आरआर क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक गरेका छन्।