प्रकाश कुमार सोनी वीरगञ्ज महानगरको कुम्हालटोलमा खुद्रा हार्डवेयर पसल — आदित्य ट्रेडर्स एण्ड सप्लायर्स — चलाउँछन् ।
कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र, बजरंग चौक, रेलवे रोडबाट करिब ९० मिटर पश्चिम म्यारिगोल्ड माध्यमिक विद्यालयको सामुने प्रकाशको पसल अवस्थित छ ।
उन्नाइस वर्षको उमेरमा एक प्लास्टिक कम्पनीमा सुपरभाइजरको रूपमा काम गर्दै व्यावसायिक जीवनमा प्रवेश गरेका प्रकाशले वाणिज्यमा स्नातक तहसम्म पढेका छन् ।
उद्यममा प्रवेश
चालिस हजार रुपैयाँको पुँजीसहित सञ्चालनमा ल्याइएको यस पसलले हार्डवेयर सामान बिक्रि थालेको डेढ वर्ष भयो ।
आफ्नो पसल खोल्नुअघि प्रकाशले हार्डवेयर थोक विक्रेता कम्पनीमा सात वर्ष लेखापढी (एकाउन्टीङ्ग) सिक्दै र बजार व्यवस्थापन (मार्केटिङ) सीप निखार्दै बिताए । “मलाई आफ्नै केही सुरु गर्नुपर्छ जस्तो महसुस भयो,” उनी सुनाउँछन् ।
उनले आफ्नो पसल थोरै मालसामानहरुबाट सुरू गरेका हुन् । बिक्रीबाट भएको नाफा पुनः लगानी गरेर बिस्तारै आफ्नो स्टक बढाउँदै लगे । उनी सम्झन्छन्, “म एकपटकमा पाँच हजार वा दश हजार रुपैयाँ बराबरको सामान मात्र किन्ने गर्थे ।” समयसँगै उनले ग्राहकको आवश्यकता अनुसार आफ्नो पसलको मालसामानहरु विस्तार गर्नुका साथै आफै अपरिचित भएका उपकरणहरूका बारेमा पनि सिके ।
प्रकाशले अहिले स्टक व्यवस्थापन, डेलिभरी र ग्राहक सेवा सबै एक्लै सम्हालिरहेका छन् । “पसल म एक्लैले चलाउँछु,” उनी भन्छन्, “कहिलेकाहीं भाइले सघाउँछ ।” पसल दिनको ११ घण्टा र हप्ताको ६ दिन सञ्चालन गर्छन् । ग्राहकलाई आवश्यक्ताअनुसार घरमै डेलिभरीको सुविधासमेत उपलब्ध गराउँछन् ।
तीन लाख रुपैयाँ बराबरको स्टकको साथ आजका दिनमा आदित्य ट्रेडर्स एण्ड सप्लायर्सले पाइप फिटिङ, ढोका फिटिङ, पेन्टिङ उपकरणहरू लगायत अन्य साना सामानहरू बिक्री गर्छ ।
पसल खोल्नुअघि
करिब एक दशक अगाडी प्रकाशले चिनजानमार्फत हार्डवेयर थोक विक्रेता कम्पनीमा मार्केटिङ्गको कामको लागि अन्तर्वार्ता दिन पुगेका थिए । तर, कम्पनीले लेखापढी विभागमा भर्ति माग गरेको थियो। अन्तर्वार्ताको अवसरलाई सदुपयोग गर्दै प्रकाशले लेखा विभागमा भएपनि आफूलाई भर्ति गर्न आग्रह गरे ।
कम्पनीले उनको सिक्ने चाहनालाई विश्वास गर्दै अवसर दियो । सुरुवाती दिनहरू सम्झिँदै प्रकाश भन्छन्, “साँच्चै भन्नुपर्दा, त्यसबेला मलाई ‘एकाउन्टीङ्ग’ को ‘ए’ पनि थाहा थिएन ।”
एक दयालु वरिष्ठ सहकर्मीले पहिलो छ महिना उनलाई बिक्री, खरिद, स्टक व्यवस्थापन, र भ्याट जस्ता आधारभूत कुराहरू सिक्न मद्दत गरे । लेखापढीमा उनी बिस्तारै पारङ्गत हुँदै गए । तर, उनको असल चाहना भने कहीँ अर्कै थियो । “सुरुदेखि नै मार्केटिङमा मेरो गहिरो रुचि थियो । त्यो क्षेत्रमा म हरेक दिन नयाँ मान्छेसँग भेट्न सक्थे र तिनीहरूबाट केही नयाँ सिक्न सक्थे ।”
उनको क्षमता देखेपछि, अन्ततः उनलाई मौका दिइयो। वीरगञ्जबाट थालेको कामले ग्राहकहरूसँग भेटघाट गर्ने, उनीहरूको अर्डर लिने र बाँकी भुक्तानीहरू प्राप्त गर्ने सिलसिलामा उनलाई देशव्यापी घुम्ने मौका दियो । “मलाई हेटौँडा पठाइयो; मिर्चैया, बुटवल, नारायणघाट, कोहलपुर, र नेपालगञ्जको यात्रा गरेँ । जीवनको पहिलो १८ घण्टे लामो यात्रामा धनगढी पुगेँ । कुन बस चढ्ने पनि थाहा थिएन,” प्रकाश हाँस्दै सम्झन्छन् ।
परिवारबाट पाएको सहयोग
आमाबुवा र अन्य तीन भाईहरू भएको आफ्नो परिवारलाई प्रकाशले निरन्तर सहयोगको श्रेय दिन्छन्।
“मेरो परिवारकै माया र हौसलाको कारण आज पसल [यस] स्थानसम्म पुगेको छु,” उनी भन्छन् । यस साथ र सहयोगको सम्मानमा नै उनले पसलको नाम आफ्नो भाइको नामबाट राखेका हुन् ।
प्रकाशले घरनजिकै रहेर आफ्नै केही गर्न पाउनुको महत्त्वलाई स्वीकार्छन् । “जहाँ भएपनि मैले काम गर्नैपर्छ । चाहे विदेश होस्, चाहे आफ्नै देशमा । यहाँ परिवार पनि नजिक र यो मेरो आफ्नै व्यवसाय पनि हो ।”
“पसलले महिनाको औसत तीस हजार रुपैयाँ आम्दानी गर्छ । ममाथि कुनै ऋण पनि छैन । थोरै नाफामा सामान बेच्न पाउँदा पनि म खुसी नै छु । मेरो पसलले मेरो जीविकोपार्जन र पसलका नियमित खर्चहरू धानेसम्म म सन्तुष्ट रहन्छु ।”
व्यवसाय सञ्चालनमा चुनौती
प्रकाशका लागि सबैभन्दा ठूलो चुनौती बजारअनुसार मूल्य निर्धारण गर्नु रह्यो ।
थोक विक्रेतामा कार्यरत जिम्मेवारीबाट आफ्नो खुद्रा व्यापार सञ्चालनमा सर्दा प्रकाशका लागि नयाँ अनुभव थियो । सुरुमा उनका मूल्यहरू स्थानीय बजारसँग मेल खाँदैनथे । “एकजना ग्राहकले मलाई कुनै एउटा सामानको लागि अर्को पसलभन्दा महँगो लिएको बताउनुभयो,” उनी भन्छन् । “मलाई थोक विक्रेता दर थाहा थियो, तर खुद्रा मूल्य कति हुनुपर्छ निश्चित गर्न सकिनँ । मैले यस्तो मूल्य पत्ता लगाउनुपर्ने भयो जसले न त ग्राहकलाई घाटा होस्, न त मलाई ।”
यसलाई समाधान गर्न प्रकाशले स्थानीय बजारको अध्ययन थाले । अरु पसलहरूमा आफू ग्राहकको रूपमा प्रस्तुत भएर विभिन्न सामानहरुको मूल्यबारे जानकारी लिए । यस सर्वेक्षणपछि उनले आफ्ना लगभग ७०% सामानहरूको मूल्य निर्धारणमा आत्मविश्वास आर्जन गरे ।
स्टक व्यवस्थापन दोस्रो चुनौती बन्यो । “मानिसहरू खुद्रा पसलमा सानै परिमाणमा सामान किनमेल गर्न आउँछन् । उदाहरणका लागि, ग्राहकले आफुलाई चाहिने न्यून संख्यामा मात्र किल्लाहरू सोध्छन्, यद्यपि यस्ता किल्ला [केही निर्धारित संख्यासहितको] बक्सा [वा प्याकेट]मा आउँछ । यस्ता साना सामानहरुको स्टक व्यवस्थापन गर्न गाह्रो पर्छ, अझै पनि पर्दैछ ।”
यी बाहेक, प्रकाशले पसल एक्लैले सञ्चालन गर्नुपर्दा कुनै दिनहरु निकै व्यस्त र थकित हुन्छन् । व्यापार वृद्धिको लागि हालको अवस्थित स्थान उपयुक्त नभएको पनि उनी ठान्छन् । (कुम्हालटोल र रेशमकोठी मूलतः आवाशीय क्षेत्र हुन् ।)
मार्ट खोल्ने सपना
प्रकाशसँग आफ्नो भविष्यका लागि ठुला सपना छन्।
आफ्नो ग्राहकहरूको सहजताका लागि औजार, पेन्ट र फिटिङ लगायतका उपकरणहरू छुट्टा-छुट्टै सेक्सनमा राख्ने ठूलो स्थानको कल्पना गर्दै उनी भन्छन्, “म एक दिन हार्डवेयरको एउटा मार्ट खोल्न चाहन्छु ।” उनले यसको लागि डेढदेखि दुई करोड रुपैयाँसम्मको लगानी आवश्यक पर्ने अनुमान गरेका छन् ।
आफ्नो सोचमा अडिग प्रकाश पाँच वर्षभित्र आफ्नो पसल दोब्बरले वृद्धि हुने र बढ्दो व्यवसायलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक पर्नेमा विश्वस्त छन् । “जहाँबाट मैले सुरू गरेँ, [फर्केर हेर्दाँ] मैले प्रगति गरेको छु ।”